मकवानपुर प्रशासनद्वारा बजार अनुगमनलाई तिब्रता
चाडपर्वको मौका छोपी व्यापारीहरुले अखाद्य वस्तु बेच्न सक्ने भन्दै मकवानपुर प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवापुरको नेतृत्व गएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१ चौकिटोल क्षेत्रमा रहेका मासु पसलहरु र हेटौंडा १० मा रहेको माछा बजारमा अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा बरामद गरिएको अखाद्य माछा, मासु तथा अण्डा नस्ट गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरको सयोजकत्व तथा जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा, उद्योग वाणिज्य संघ मकवानपुर, मासु व्यावसायी संघ हेटौंडा, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता समितिका प्रतिनिधि पत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थितीमा माछा–मासु पसल अनुगमन गरिएको थियो ।