देशमा ठूला परिवर्तन कम्युनिष्ट पार्टीले ल्याएको एकिकृत समाजवादीका अध्यक्ष नेपालको दाबी
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रोजगारी, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर जनतामाझ आएको बताउनुभएको छ ।
एकीकृत समाजवादीले सुरु गरेको मेची–महाकाली जागरण अभियानलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै उहाँले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, लगायतका कुरालाई आफ्नो पार्टीले महत्वका साथ अघि सारेको बताउनुभयो । कम्युनिष्ट पार्टीले नेपालको राजनितीमा खेलेको भूमिका स्मरण गर्न आग्रह गर्दै अध्यक्ष नेपालले देशमा ठूला ठूला परिवर्तन कम्युनिष्ट पार्टीकै कारण आएको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले २०५१ सालमा सरकारमा रहेका बेला ६० हजार सुकुम्बासी परिवारलाई जग्गा वितरण गरिएको स्मरण गर्दै मकवानपुरको सुकुम्वासी समस्या समाधानको लागि पनि पहल गर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले देश विकासका लागि बाहिरी देशहरुसंगको सहकार्य गर्न आवश्यक रहेको भन्दै स्वाभिमानमा आँच नआउनने गरी पार्टी अघि बढ्ने बताउनुभयो ।
यस्तै सभालाई सम्बोधन गर्दै एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्ययोजना र विचार ठूलो राखे सानो पार्टी पनि छोटो अवधीमा ठूलो पार्टी बन्न सक्ने जिकिर गर्नुभयो । उहाँले वैकल्पिक कम्युनिष्ट पार्टी स्थापना गर्ने लक्ष्य लिएर मेची–महाकाली जागरण अभियान सुरु गरेको बताउनुभयो ।
एकिकृत समाजवादी मकवानपुर इन्चार्ज तथा केन्द्रिय सदस्य मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटि सदस्य विरोध खतिवडा, सचिव रामकुमारी झाक्री, बागमती प्रदेश अध्यक्ष सावित्रा भूषाल, नेता ललित बहादुर बस्नेत, प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल लगायतक उपस्थिती रहेको थियो ।
असोज १४ गते पूर्वको काकडभिट्टाबाट सुरु भएको समाजवादी मेची–महाकाली जागरण अभियान शुक्रबार हेटौंडा आइपुगेको हो । समाजवादी मेची–महाकाली जागरण अभियान असोज २९ गते सुर्खेतमा पुगेर सम्पन्न हुनेछ ।