हेटौंडामा शनिवार पहिलो मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने
हेटौंडामा हुने पहिलो मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिताको तयारी पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरले शनिवार हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
मिस्टर मकवानपुर २०८० मा विभिन्न तीन विधा गरि ४५ प्रतिष्पर्धीको सहभागिता रहने कार्यक्रम संयोजक सुनील लोप्चनले जानकारी दिनुभयो । प्रतियोगितामा मिस्टर मकवानपुर, मिस्टर मकवानपुर भेट्रान्स र बेष्ट फिजिक्स वुमन च्याम्पियनसीप गरी तीन विधामा प्रतिस्पर्धा हुने संयोजक लोप्चनले बताउनुभयो ।
मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजीमा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने बताइएको छ ।
मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने छ । मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट तथा अनुशासित क्लबलाई बेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने महासंघ अध्यक्ष राजेश भेटवालले जानकारी दिनुभयो । कार्यक्रममा पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिने उहाँले बताउनुभयो ।