संविधान प्रतिको ओठेभक्ति र संघीयता प्रतिको विष बमन विरोधाभाषपूर्ण विषयः बागमती प्रदेश प्रमुख
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान प्रतिको ओठेभक्ति र संघीयता प्रतिको विष बमन विरोधाभाषपूर्ण विषय भएको बताउनु भएको छ ।
बुधबार संविधान दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय परिषर हेटौडामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जनताको पीडामा बगेका आँसु पुछिदिने अर्थात न्यायको लागि आश्वस्त पार्ने र राहत दिने प्रणाली सुशासन रहेको बताउनुभयो । उहाँले संविधानले यस्तै सुशासनको परिकल्पना गरेको बताउनुभयो ।
प्रदेश प्रमुख शर्माले जनताद्वारा निर्वाचित प्रतिनिधीहरूले विद्यमान संविधान निर्माण गरेकोले संविधानको मर्म र भावनाहरुको पालना गर्न प्रतिवद्ध रहनु सबैको मूल दायित्व रहेको बताउनुभयो ।
गणतन्त्र तथा धर्म निरपेक्षता संविधानले उपलब्ध गराएका नेपाली जनताका नीधि रहेको भन्दै उहाँले भावी पुस्ताका धरोहरको रुपमा रहेको संविधानमा कुल्चिएर यसैलाई प्रहार गर्ने कार्य कसैबाट हुनु नहुने बताउनुभयो ।
संविधान दिवस मुल समारोह समिति बागमती प्रदेशले आयोजना गरेको कार्यक्रम हेटौंडाको बुद्धचोकबाट प्रभातफेरी गर्दै मुख्यमन्त्री कार्यालय परिषरमा गएर सभामा परिणत भएको थियो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, बिभीन्न थरीथरीका झाकी सहित प्रभात फेरीमा सहभागि गराइएको थियो ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता थियो ।