प्रदेश सरकारले विद्यालयको क्षेत्रमा राम्रो काम गरेको छः मुख्यमन्त्री जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले विद्यालयको क्षेत्रमा राम्रो काम गरेको दाबी गर्नुभएको छ ।
मंगलबार सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस समारोहको उद्घाटन् गर्दै उहाँले कृषि, स्वास्थ्य र प्राविधिक शिक्षा विद्यालयमा पढाउनु पर्ने बताउनु भयो । अबको शिक्षा कृषि क्षेत्रमा केन्द्रीत गर्नुपर्ने उहाँको सुझाव थियो ।
नर्स र डाक्टर पढ्नका लागि धेरै शुल्क लिने गरेकोमा आपत्ति जनाउँदै उहाँले अब नर्स र डाक्टर पढाउनका लागि चाहिने शुल्क प्रदेश सरकारले तोक्ने र त्यसलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो ।
यस्तै, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षामा सुधार गरे मात्र अन्य क्षेत्रमा सुधार हुने बताउनु भएको छ । शिक्षा दिवसको कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै उहाँले शिक्षामा सुधार गरे मात्र सबै क्षेत्र सुध्रदै जाने बताउनुभयो ।
मन्त्री मोक्तानले समाज सुधारका लागि पहिलो व्यक्ति शिक्षक भएकाले उसले राम्रो शिक्षा दिन जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले माध्यमिक विद्यालय स्तरको शिक्षा सुधारका लागि लगानी गरिरहेको पनि उहाँले बताउनुभयो ।