बागमती प्रदेशमा असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाईदै
बागमती प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ ।
बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले कार्यक्रम बारे जानकारी दिँदै संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन अपिल गर्नुभयो ।
उहाँले असोज २, ३ र ४ गते प्रदेश, मन्त्रालय कार्यालयहरु र सार्वजनिक स्थानको विशेष सरसफाई गर्ने तथा साँझ प्रदेश स्थित सबै मन्त्रालय र कार्यालयहरु, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै, असोज २ गते स्वास्थ्य मन्त्रालय अन्तरगत प्रदेशको १३ ओटै जिल्लामा मधुमेह तथा रक्तचापको निशुल्क परिक्षण शिविर र हेटौडामा रक्तदान कार्यक्रम गर्ने, असोज २ गते नै वन तथा वातावरण मन्त्तालयले प्रदेशको १३ ओटै जिल्लामा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै, असोज ३ गते बिहान साँडे ७ बजेदेखि हेटौंडाको बेद्धचोकबाट मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्राङ्गणमा प्रादेशिक विविधता झल्कने झाँकी, व्याण्ड बाजासहितको मार्चपास एवं प्रभातफेरी गरिने निर्णय भएको कानुनमन्त्री श्रेष्ठले बताउनुभयो ।
यस्तै, असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जनाइएको छ । साथै संविधान दिवस मनाउनको लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा ४७ सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
यसैगरी सार्वजनिक निकायमा संबन्धित निकायले र सार्वजनिक स्थलको हकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय झण्डा फहराउने व्यवस्था मिलाउने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।