संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको हृदयाघातका कारण निधन
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयाघात भएको हो । उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा उहाँको निधन भएको नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत नेता अस्पताल पुग्नु भएको थियो ।
विसं २००९ फागुन २८ गते जन्मिनु भएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवी बनाउनु भएको थियो ।