बागमती प्रदेश प्रमुखद्वारा छोनाम अर्थात् न्वाँगीका अवसरमा शुभकामना व्यक्त

छहारी संवाददाता
भदौ २२, २०८०

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शुक्रबार प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वाँगीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । आफ्नो सन्देशमा प्रमुख शर्माले नयाँ अन्न खाने दिनका रुपमा मनाइने न्वाँगी पर्व चेपाङ जातीको जीवनशैली र संस्कृतिसँग जोडिएको उल्लेख गर्नुभएको छ।

‘भीरपाखामा बस्न रुचाउने चेपाङ समुदायले पाखापखेरामा लगाएको मकै,धान र फलफूल भदौमा पाक्ने भएकाले यही महिनामा न्वाँगी धुमधामसँग मनाउने गरिएको हो ।’ चेपाङ समुदाय नेपालको बागमती प्रदेशको चितवन,मकवानपुर र धादिङ तथा देशका अन्य विभिन्न ३१ जिल्लामा बसोबास गर्दछन् ।

यस्ता पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्ने प्रमुख शर्माको भनाई  छ। ‘बहुजातिय,बहुभाषिक,बहुसांस्कृतिक,बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा न्वाँगीजस्ता पर्वले विविधताभित्र एकता, धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँदछ ।’ उहाँले भन्नुभएको छ,‘ चेपाङहरुको भाषा,धर्म,संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्वपूर्ण भूमिका खेल्दछ’। लोपोन्मुख जातीका रुपमा रहेका चेपाङ समुदायको उत्थान तथा प्रगतिमा समेत यस्ता पर्वले सघाउ पुर्‍याउँने शर्माको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*