बागमती प्रदेशको उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा बिना विभागीय मन्त्री चित्रकारलाई

छहारी संवाददाता
भदौ ५, २०८०

बागमती प्रदेश सरकारले उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले एक मन्त्रालय थप गरि चित्रकारलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो । अब बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ पुगेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय सहित विभिन्न १२ ओटा निर्णय गरेको हो ।

बैठकले प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको श्रेष्लेठ जानकारी दिनुभयो ।

बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलाहरुलाई निशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले बागमती प्रदेश सभाको बैठक भदौ १७ गते दिउँसो १ बजेका लागि बोलाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*