बागमती प्रदेशका ८ लाख ३३ हजार बढी भेडा बाख्रालाई पीपीआर खोप लगाइयो
बागमती प्रदेशको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ ।
प्रदेशभरी चलाइएको पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत शनिवार सम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रा गरी ८ लाख ३३ हजार १८९ वटा भेडा बाख्रालाई पीपीआर खोप दिएको मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।
फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालेका भेडा बाख्रालाई पीपीआर लगाइएको हो । खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको अधिकारीले बताउनुभयो ।
अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आएको छ । पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ ।
नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखा परेको छ ।