फागुन १ गतेदेखि बागमती प्रदेशका २६ लाख बढी भेडा बाख्रालाई पिपिआर खोप दिईदै
भोली फागुन १ गते सोमबारदेखि बागमती प्रदेशका २६ लाख १३ हजार २ सय ३२ वटा भेडा बाख्रालाई पिपिआर रोग विरुद्ध खोप दिईदैछ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताह व्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पिपिआर रोगका कारण वर्षेनी धेरै संख्यामा भेडा बाख्राको मृत्यु भइ किसानले ठुलो क्षति बेहोर्नु परेको भन्दै खोप अभियान संचालन गर्न लागेको जानकारी दिएको छ।
भोली सोमबार देखि फागुन ७ गतेसम्म प्रदेशका १ सय १९ स्थानीय तहका ९२ हजार ५६१ भेडा र २५ लाख २० हजार ६ सय ७१ वटा बाख्रा गरी कुल २६ लाख १३ हजार २ सय ३२ वटा भेडा बाख्रालाई खोप दिईनेछ । संघिय सरकारबाट प्रदेशभर १२ लाख ६९ हजार अर्थात ४९ प्रतिशत खोप उपलब्ध रहेको मन्त्रालयले जानकारी दिएको छ ।
विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनले सन् २०३० सम्म पिपिआर रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप हरेक वर्ष पिपिआर खोप अभियान संचालन हुँदै आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ब्याउने अवस्थाका र रोगी भेडा बाख्रालाई पिपिआर खोप दिन नमिल्ने भएकाले स्वस्थ भेडाबाख्रालाई मात्र यो खोप दिन अनुरोध समेत गरेको छ ।