बन्दा समाज नै बन्नुपर्छ कुनै व्यक्ति मात्र हैनः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
माघ २७, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ ।

नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गर्ने बताउनुभयो । बागमती प्रदेश सरकारले ब्यक्तिलाई दिने अनुदान पनि बन्द गर्ने उहाँले बताउनुभयो ।

‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै ब्यक्ति मात्र हैन’, जम्कट्टेले भन्नुभयो, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं ।’ देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरु एक हुनु आवश्य रहेको उहाँको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच छिट्टै एकता हुने बताउनुभयो ।

‘प्रचण्ड र बाबुराम जिले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको बिकल्प छैन’, उहाँले भन्नुभयो, ‘त्यसको लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं ।’ जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उहाँको भनाई छ । बागमती प्रदेश सरकारले जनपक्षीय कामहरुको सुरुवात गरेको श्रेष्ठले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*