बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त
बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त हुनु भएको छ ।
प्रदेशको मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बर्दियामा जन्मिनु भएका चालिसे हाल ललितपुरमा स्थायी बसोबास गर्नुहुन्छ । उहाँ जनसंख्या र बुढ्यौलीविद् हुनुहुन्छ ।
हाल उहाँ विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्य समेत हुनुहुन्छ । नेपाल जनसंख्या संघको उपाध्यक्ष रहनु भएका चालिसे त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन गराउँनुहुन्छ ।
अमृत साइन्स क्याम्पसबाट उहाँले बिएस्सी, त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या बिषयमा स्नातकोत्तर र टोकियो युनिभर्सिटी जापानबाट बिद्याबारिधीको उपाधि प्राप्त गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या बिषयमा स्नातकोत्तर गर्दा उहाँ आफ्नो ब्याचका गोल्ड मेडलिस्ट हुनुहुन्थ्यो ।