महोत्सवमा शान्तिश्रीले नचाइन् दर्शक, सोमबार रचना रिमाल आउने
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आइतबार करिब ६ हजार भन्दाबढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको बाह्रौं दिन आइतबार करिब ४० लाख बराबरको कारोबार भएको अनुमान संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालले बताए ।
आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकहरुलाई नचाएकी थिइन् । उनले बोल माया…, लाउन्नदाजै पिरती…, भीर मौरी भीरैमा…, गलबन्दी च्यातियो…, ए फुलमाया यता आइजो…, हिमाल फुल हिउँमै सरेको…, सोल्टी बजारमा…, नयाँ नयाँ लुगा फेरे लगायत थुप्रै गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै आजै गायक सुजील कर्माचार्यले भुमो भुमो…, मानिलेउ संसारकै तिमी राम्री लगायतका गीतहरु प्रस्तुत गरेकाथिए ।
महोत्सवको अन्तिम दिन भोली सोमबार चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुती दिने महोत्सवक ाकलाकार मनोरञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भएको छ ।
हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नव प्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मन पर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । आइतबार आइडलबाट राजेश दर्नाल बाहिरेका छन् भने बाकीँ ५ जना फाइनल प्रवेश गरी आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् ।
११ गते सुरु भएको महोत्सव माघ २३ गते सोमबार सम्म सञ्चालन हुनेछ । महोत्सवमा आज आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।