हेटौंडामा १० औं औद्योगिक व्यापार महोत्सव सुरु
मकवानपुर उद्योग वाणिज्य संघ आयोजनामा आजबाट १० औं औद्योगिक व्यापार महोत्सव सुरु भएको छ। विकाशको पूर्वाधार, उद्योग र व्यापार भन्ने मुल नाराका साथ हेटौंडा १० स्थित टिसिएन चौरमा सुरु भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो ।
महोत्सवको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले संमृद्ध बागमती बनाउनु सबैको उद्देश्य र लक्ष्य रहेृको बताउनुभयो । कोरोनाका कारण २ वर्षमा मुलुकको अर्थतन्त्र खस्केको उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी, उर्जा तथा सिँचाई मन्त्री उद्धव थापा, सामाजिक विकास मन्त्री कुमारी मोक्तानको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्र बहादुर बाँनिया, भारती पाठक, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामा,नेपाली काग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेपाल पत्रकार महासंघ महवानपुर अध्यक्ष मणिराज गौतम लगायतको सहभागिता थियो ।
मेलामा ३ सय ३७ वटा स्टल रहकोे उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले बताउनुभयो । जुम्लाको मार्सि चामल देखि काठमाडौंको पुस्टकारी सम्म मेलामा पाइने अग्रवालले जानकारी दिनुभयो । कृषि, घरेलु हस्तकला, महिला उद्यमीका सामान लगायतको स्टल रहेका छन् ।
माघ २३ गतेसम्म सञ्चालन हुने मेलामा हेटौंडा आइडल गायन प्रतियोगिता, डान्सिङ स्टार र ब्राइडल मेकअप प्रतियोगिता समेत रहनेछ । महोत्सवमा दैनिक रुपमा निशुल्क स्वास्थ्य जाँच समेत हुनेछ । २ लाख दर्शकले अवलोकन गर्ने प्रक्षेपण राखिएको मेलामा २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।