स्थानीय तह शहीद स्मृति गोल्डकप माघ आन्तिम बाट सुरु हुने
पाँचौँ संस्करणको स्थानीय तह शहीद स्मृति अन्र्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता माघ आन्तिम बाट सुरु हुने भएको छ । प्रतियोगिता माघ २९ देखि फागुन ११ गतेसम्म हेटौंडा ५ क्याम्पाचौरमा सञ्चालन हुने मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
नकआउट चरणमा हुने प्रतियोगितामा २ विदेशी टिम, ३ विभागीय टिम, ५ वटा ए डिभिजन क्लब र मोफासलका २ टिम गरी १२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले १५ लाख, उपविजेताले १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई २५–२५ हजार, म्यान अफ द म्याचले १० हजार प्राप्त गर्ने फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि एक करोड ३९ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ ।
पत्रकार सम्मेलनमा बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की लगायतको उपस्थिति थियो ।