विमान दुर्घटनामा निधन भएका पत्रकारको सम्झनामा दीप प्रज्वलन
विमान दुर्घटनामा निधन भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र सञ्चारकर्मी अनिल शाहीको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा हेटौंडाको बुद्धचोकमा सोमबार श्रदाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको हो । पत्रकार द्वय पौडेल र शाही लगायत आइतबार भएको विमान दुर्घटनामा निधन भएका ७२ जनाको सम्झनामा श्रदाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको हो ।
श्रदाञ्जली सभामा पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, महासंघ जिल्ला अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको उपस्थिती थियो ।
यसैबच नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारणसभा स्थगित भएको छ । माघ ६ र ७ गतेका लागि दोलखाको जिरीमा तय भएको साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको महासंघ प्रदेश महासचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधन भएकोमा १३ दिनसम्म शोक सभा बाहेक औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।