मुख्यमन्त्री बनेपछि संघियता खारेज गर्छौंः राप्रपा प्रदेश संसदीय दलका नेता थापा

छहारी संवाददाता
पुस १८, २०७९

बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री बनेपछि पाँच वर्ष भित्र संघियता खारेज गर्ने बताएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पत्रकारहरुसंग मुख्यमन्त्रीको दाबी र संघियता खारेजीको कुरा प्रष्ट पार्नु भएको हो । सोमबारबाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा आउनु भएका थापाले पत्रकारहरुसंग भन्नुभयो- ‘मुख्यमन्त्री भएपछि हाम्रो भुमिका संघियता खारेजीमै केन्द्रित हुन्छ ।’

थापाले आफुहरुमा सत्ताको लोभ नरहेको तर राप्रपा पनि मुख्यमन्त्रीको बलियो दाबेदार रहेकाले अडानबाट पछि नहट्ने बताउनुभयो ।उहाँले २०४६ सालपछी २०७९ सम्म आइपुग्दा मुलुकलाई झन्डै २० खर्ब बजेट घाटा भइसकेको भन्दै संघियता खारेज गर्नु पर्नेमा जोड दिनुभयो । जनताको चाहनापनि त्यही रहेको थापाले जिकिर गर्नुभयो ।

प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सदस्य संख्या रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक पर्दछ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ ।

प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । तर बागमती प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन दलले नै दाबी गरिरहेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*