दोस्रो कार्यकालको पहिलो बैठकमा पाँच वटा अध्यादेश टेबल

छहारी संवाददाता
पुस १८, २०७९

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा पाँच वटा अध्यादेश टेबल भएको छ । पौष १८ सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभामुख र उपसभामुख चयनको मिति तोक्नुका साथै पाँच वटा अध्यादेश टेबल भएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गर्नु भएको थियो ।

संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गर्नुभयो । यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ पेस गर्नु भएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गर्नुभयो ।

बैठकले प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि पुस २९ गते शुत्रmबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । बैठकमा प्रदेशसभा नियमावाली पहिलो संशोधन २०७४ को नियम ११ को उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्य उर्मिला नेपाल, भारती पाठक, ठाकुरप्रसाद ढकाल, लक्ष्मी घिमिरे तथा राजेन्द्रमान श्रेष्ठलाई मनोनीत गरेको छ । प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*