मनहरी ५ मा माटो तथा गोबर परीक्षण शिविर सम्पन्न
मनहरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा माटो तथा गोबर परीक्षण र आर्थिक वर्ष २०७९/८० को योजना सम्झौता सम्बन्धी कार्यक्रम गरिएको छ ।
वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षता एवं मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । माटो तथा मल प्रयोगशाला हेटौंडाको सहयोग तथा वडा नम्बर ५ को सहकार्यमा माटो तथा गोबर परिक्षण गरिएको थियो ।
एक दिने शिविरमा ६४ वटा पशुको गोबर परिक्षण गरिएको थियो भने ६५ जनाले माटो परिक्षणका लागि नमूना उपलब्ध गराएका छन् । गोबर परिक्षणका क्रममा ३० पशु चौपायामा नाम्ले रोग देखिएको र २० ओटामा जुका देखिएको प्राविधिकहरुले बताएका छन् । माटो परिक्षणको रिपोर्ट आउन केही दिन लाग्ने ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनुभयो ।
वडा स्तरमा नै गोबर चेक जाँच तथा माटो परिक्षण सेवा सुरु हुँदा यस क्षेत्रका किसान खुशी छन् । हरेक ६—६ महिनामा माटो तथा गोबर परिक्षण गर्ने लक्ष्य वडाले लिएको अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रशासकीय अधिकृत मोहन श्रेष्ठ, योजना शाखा प्रमुख राजेन्द्र चौलागाई लगायतको उपस्थिती थियो ।