गठबन्धनको सरकार बनेपछि हाँडीखोलाको मुहार फेरिन्छः बानियाँ
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने विश्वास दिलाउनुभयो ।
मनहरी–५ बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै बानियाँले पूर्व पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताउनुभयो ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै राप्तीखोलामा पक्की पुल निर्माणको लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताउनुभयो । ‘नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको थियो ।
गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर– मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ ।’ बानियाँले भन्नुभयो । हाँडीखोलामा कृषि तथा पशुपालनको हब बनाइने उहाँले बताउनुभयो ।
बीउबीजन तथा रसायनिक मल समयमा उपलब्ध गराउने, कृषिउपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बानियाँले बताउनुभयो । बानियाँले नेकपा एमालेले जनतले ल्याएको उपलब्धीलाई मास्न खोज्ने, राजाबादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै अब जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताउनुभयो ।
उहाँले प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रम अन्तरगत १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताउनुभयो ।
मनहरी ५ का चुनाव प्रचारप्रसार समितिका संयोजक गोविन्दप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु राजाराम स्याङतान, बुद्ध लामा, विष्णुप्रसाद उप्रेती, रामप्रसाद कालाखेती, शुभराज थिङ्गलगायतको उपस्थिति रहेको थियो ।