डिभिजन वन कार्यालय मकवानपुरद्वारा हेटौंडामा सरसफाइ अभियान
डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा हेटौंडामा सरसफाइ अभियान सुरु गरिएको छ । बागमती प्रदेशलाई सफा सुन्दर प्रदेश बनाउने उद्देश्यले सरसफाई गरिएको हो । कार्यक्रममा हेटौंडा उपमाहानगरपालिकाकी प्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
सरसफाई अभियान अन्तर्गत आइतबार फरेष्टी क्याम्पस वरवरको वातावरण सरसफाई गरिएको डिभिजन बन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतमले बताउनुभयो । अभियानको पहिलो दिन फरेष्टी वरपर फ्याकिएका फोहर संकलन गर्ने काम गरिएको छ ।
अभियानको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख लामाले फरेष्टि क्याम्पस अगाडीको सडकमा तुरुन्तै सिसि क्यामरा जडान गरिने बताउनुभयो । साथै फरेष्टि क्याम्पस हाता बाहिरको खाली जग्गामा ट्रक पार्किङ गर्न रोक लगाउने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल,हेटौंडा १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, कृषि तथा वन विज्ञान विश्व विद्यालय, वन संकायका डिन डाक्टर बलराम भट्ट, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० का अध्यक्ष प्रदिप कडेँल लगायतको सहभागिता रहेको थियो । सरसफाई अभियान प्रत्येक महिना सञ्चालन गरिने छ ।