हेटौंडा बचतको आर्थिक वर्ष २०७८/०७९ मा ७३ करोड २३ लाख १३ हजार ३८८ रुपैयाँ कारोबार
हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ मा ७३ करोड २३ लाख १३ हजार ३८८ रुपैयाँको कारोबार भएको जनाएको छ ।
शनिबार २३ औं वार्षिक साधारण सभामा सहकारीले प्रस्तु गरेको आर्थिक कारोबारको प्रतिवेदनमा यस्तो जनाइएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रित आचारसंहिताको पालना गर्दै कार्यक्रम सामान्य ढंगले सम्पन्न गरिएको थियो ।
पूर्व निर्धारित कार्यक्रम भएकाले मुख्य निर्वाचन अधिकृतको निर्देशनमा आचारसंहिता पालना गर्दै सामान्य रुपमा सभा गरिएको संस्थाका व्यवस्थापक रामशरण गौतमले जानकारी दिनुभयो । सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो ।
सहकारीमा ४ करोड ४८ हजार सात सय शेयर पुजीँ रहेको छ भने ४६ करोड ६६ लाख ५६ हजार ८९९ बचत निक्षेप रहेको व्यवस्थापक गौतमले बताउनुभयो । सहकारीले आफ्ना शेयर सदस्यलाई ५५ करोड ३७ लाख ३१ हजार ७६४ कर्जा लगानी गरेको छ ।
सभामा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल लगायत विभिन्न सहकारी संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
सभामा बाल बचततर्फ उपासना रिमाल, सुजता दहाल र विश्वास बस्नेत, दैनिक बचततर्फ रामप्रसाद प्रसाई, बबिता खड्का र राजकुमार राना, ऐच्छिक बचततर्फ भक्तबहादुर वाईवा, आवधिक बचततर्फ दिलबहादुर श्रेष्ठ, पेन्सन बचततर्फ निर्मला थपलिया, लखपति बचततर्फ अञ्जु फुयाँल, नियमित मासिक बचततर्फ टिकामाया गौतम, अहिल्या श्रेष्ठ र पवननाथ घिमिरे, असल ऋणीतर्फ पातली मोक्तान, विमला कार्की र प्रमिला बन्जारालाई पुरस्कृत गरिएको थियो । सभामा पत्रकार रामशरण दुलाल, संस्थालाई विशेष योगदान गर्ने दुर्गा प्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।