प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन ३५ दिन बाँकी

मकवानपुरमा ६९ जनाको उम्मेदवारी, महिला दुई जना मात्रै चुनावी मैदानमा
छहारी संवाददाता
अशोज ३१, २०७९

प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन आउन अब ३५ दिन बाँकी छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू मत माग्न मतदाताको घर आँगन पुग्न थालिसके । विभिन्न आश्वासन बाँड्दै मकवानपुरका उम्मेदवारहरू मत माग्न टोल/टोल पुग्ने गरेका छन् । दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा प्रतिनिधिसभाको निर्वाचनको लागि क्षेत्र नम्बर एकमा दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसै गरी प्रदेशसभाको निर्वाचनको लागि क्षेत्र नम्बर १ (क) मा ८ जना, (ख) मा १० तथा क्षेत्र नम्बर २ (क) मा १० जना र (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएकोमा जिल्लाका राजनीतिक दलको तर्फबाट दुई जना महिलाले मात्रै प्रत्यक्ष तर्फको टिकट हात पारेका छन् ।

मकवानपुरमा मात्रै होइन देशभर नै राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कञ्जुस्याइँ गरेका छन् । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि २३ असोजमा मनोनयन गराएका उम्मेदवारमध्ये नौ प्रतिशत हाराहारी मात्रै महिला छन् । प्रमुख राजनीतिक दलहरूमा महिला उम्मेदवारको हिस्सा झनै न्यून छ ।

जिल्लामा राजनीतिक सत्ता गठबन्धन तर्फबाट दुई महिलाले प्रत्यक्ष तर्फको टिकट पाएका हुन् । पाँच दलीय सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको तर्फबाट महालक्ष्मी उपाध्याय (डिना) ले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा र नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तानले प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा उम्मेदवारी दिएकी छन् । अन्य दलहरु नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका पार्टीहरूले भने प्रत्यक्ष तर्फ महिलालाई अवसर दिएका छैनन् । नेकपा एमाले मकवानपुरले सूर्य चिन्हका लागि ६ जना नै पुरुष उम्मेदवार मात्रै खडा गरेको छ ।

उम्मेदवार चयनको प्रक्रिया सुरु नहुँदै महिला नेतृहरूले सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने सवाल उठाउँदै आएका थिए । उम्मेदवार सिफारिसका समयमा पनि आफ्नो हक अधिकारको लागि महिलाहरूले आवाज नउठाएका भने होइनन् ।

महिलाको मान राख्नैको लागि भए पनि सिफारिसमा नाम राखिएता पनि केन्द्रको आदेश भन्दै प्रत्यक्ष तर्फको उम्मेदवारीबाट महिलाहरूलाई पछि पार्दै आइने चलनको अन्त्य यो निर्वाचनमा पनि हुन नसकेको प्रस्ट छ । निर्वाचन आयोगले भने दलहरूलाई एक तिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको थियो । तर दलहरूले सार्वजनिक बहस र आयोगको निर्देशन समेतलाई लत्याउँदै उम्मेदवार चयनमा पुरानै प्रवृत्ति दोहोर्‍याएका छन् । संसद्मा महिलाको हिस्सा एक तिहाइ पुर्‍याउन दलहरूले फेरि पनि समानुपातिक उम्मेदवार बाटै बढी प्रतिनिधित्व गराउनुपर्ने भएको छ ।

प्रत्यक्ष टिकट पाउने दुई महिला 

जिल्लामा राजनीतिक दलको तर्फबाट प्रत्यक्ष तर्फको टिकट पाउने उपाध्याय र मोक्तान दुवै जिल्लाकै बोल्ड नेतृको रुपमा परिचित छन् । नेपाली कांग्रेसकी उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री समेत हुन् भने नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य समेत रहेकी मोक्तान बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हुन् । राजनीतिक यात्रामा स्थापित यी दुई नेतृ मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष तर्फबाट चुनावी मैदानमा उत्रँदै छन् ।

ढुक्क उपाध्याय

अन्य निर्वाचनमा पराजित भए पनि मंसिर ४ मा आफ्नो जित सुनिश्चित रहेको बताइन् । गठबन्धन दलका उम्मेदवारहरू आफूलाई मत दिन हतारमा रहेको उनले प्रतिक्रिया दिँदै आइरहेकी छिन् । यस अघिका हारहरूले धेरै पाठ सिकेर आएको कारण आगामी निर्वाचनमा जित्नेमा ढुक्क रहेको उनी बताउँछिन् ।

२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एक पटक खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनहरूमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन भएकोले विजयी हुनेमा ढुक्क रहेको उनको दाबी छ ।

प्रत्यक्षमा पार्टीले रोजेर पठाएको हो  

अघिल्लो प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित मोक्तान आगामी निर्वाचनमा २ (क) बाट चुनावी मैदानमा होमिन लागेकी छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनमा विजयी बनेकी उनी आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँछिन् ।

दुई राजनीतिक दल हुँदा जितेकी उनलाई पाँच दलीय गठबन्धनले अझै भरोसा बटुलिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा जनताको मतले आफूलाई जिताउने उनको भनाइ छ । पार्टीको निर्णयले नै आफूले टिकट पाएको बताउँदै मोक्तान जनताको साथ पाइनेमा दुई मत नरहेको बताइन् ।

१६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ मोक्तान नेकपा माओवादी केन्द्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुई पटक सांसद भइसकेकी हुन् । अघिल्लो निर्वाचनमा उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

तत्कालीन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनीत भएकी भएकी थिइन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् ।

मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन।  फरकधारबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*