भीमफेदी कारागारका कैदीबन्दीलाइ खसीदेखि चिसोसम्म सहयोग

छहारी संवाददाता
अशोज १५, २०७९

मकवानपुर जिल्लाका ३ वटा पालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मान्नका लागि सहयोग गरेका छन् ।बकैया गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाले नगद सहित खाद्य सामग्री सहयोग गरेका हुन् ।

शनिबार कैलाश गाउँपालिकाले दशैंका लागि एउटा खसी, १० बोरा चामल र दुई कार्टुन तेल उपलब्ध गराएको छ । पालिका अध्यक्ष लोकबहादुर मुक्तानले प्रशासनलाई खसीसहित खाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै राक्रिाङ गाउँपालिकाले अन्दाजी २५ केजी बराबरको खसी, दुई बोरा चिउरा,एक कार्टुन तेल र चिसो पेय पद्धार्थ डिउ सहयोग गरेको छ । गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले उक्त साम्रगी हस्तान्तरण गर्नुभएको थियो ।

शुक्रबार बकैया गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई दशैं मान्न २५ हजार नगद सहयोग गरेको थियो । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले पालिकाको तर्फबाट २५ हजार सहयोग गर्नुभएको हो । कारागारमा हाल ९ सय ९७ जना कैदीबन्दी रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*