पत्रकार महासंघ मकवानपुरको १७ औं वार्षिक साधारणसभा आगामी कात्तिक १९ गते
नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औं वार्षिक साधारणसभा आगामी कात्तिक १९ गते हुने भएको छ ।
सोमवार बसेको महासंघको बैठकले आगामी कात्तिक १९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा तयारीको लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले उपाध्यक्ष ध्रुव अधिकारीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको छ ।
महासंघ मकवानपुरका संस्थापक अध्यक्षको नाममा स्थापना गरी साधारणसभाको अवसरमा प्रदान गरिँदै आएको न्हुच्छेमान श्रेष्ठ कृयाशील पत्रकारिता पुरस्कार र युवा व्यवसायी महेन्द्र राउतले स्थापना गर्नुभएको पार्वतीमानरबोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कार वितरणका लागि छनोट उपसमिति गठन गरिएको हो ।
अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा बसेको बैठकले आगामी १४ गते शुक्रबार चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । विगतका वर्षहरुमा झैँ महासंघले यसवर्ष पनि आफ्ना सदस्यहरु तथा सरोकारवालाहरु बीच आत्मीय सम्बन्धलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष गौतमले बताउनु भयो ।
महासंघले यहि असोज १४ गते शुक्रबार बिहान ७ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो । महासंघ बैठकले केहि समयदेखि अस्वस्थ भई उपचाररत रहुनभएका महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार कौशल पाण्डेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।