हिन्दुको सबैभन्दा ठूलो चाड बडा दशैं आजदेखि सुरु

आज घटस्थापना गरिँदै, घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा
छहारी संवाददाता
अशोज १०, २०७९

हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड बडा दशैं आजदेखि सुरु भएको छ ।

यसवर्षको बडा दशैँको पहिलो दिन आज घटस्थापना । घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिँदैछ । आज घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आजैदेखि नवरात्र सुरु हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*