चाडपर्व लक्षित अनुगमन गर्न बागमती गाउँपालिकालाई वाइसिएलको ध्यानाकर्षण
योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) बागमतीले पसलहरुमा चाडपर्व लक्षित अनुगमन गर्न बागमती गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । वाइसिएले आज गाउँपालिका अध्यक्ष सर्केश घलानलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
पसलहरुमा उपभोग्य बस्तुहरु म्याद नाघेको भेटिएको, मूल्य सूचि नराखी बेचेको तथा सरसफाईमा समेत ध्यान नदिई उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुँदा पनि गाउँपालिकाले अनुगमनमा ध्यान नदिएपछि ध्यानाकर्षण पत्र बुझाएको वाईसिएल बागमतीका अध्यक्ष मुक्ति लामाले बताउनुभयो ।
चाडपर्वको समयमा उपभोक्ताहरु ठगिने भएकोले समयमै अनुगमनलाई तीव्रता दिएर नागरिकलाई सहजता प्रदान गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको लामाले बताउनुभयो ।
वाईसिएलको ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष घलानले यस बिषयमा छिट्टै गाउँपालिका लागिपर्ने र बजार व्यवस्थित गरी उपभोग गर्न मिल्ने वस्तु मात्रै बिक्री गर्न लगाइने बताउनुभयो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा वाईसिएल बागमतीका पदाधिकारीहरु, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाका पदाधिकारीहरु, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।