म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढी आवेदन, सबैभन्दा धेरै मधेस प्रदेशमा
संघ र प्रदेश निर्वाचनको सुरक्षाका लागि माग गरिए भन्दा दोब्बर बढीले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।
१ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका हुन् । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ भने सबैभन्दा कम आवेदन कर्णाली प्रदेशमा परेको छ ।
मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, बागमती प्रदेशबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५०, प्रदेश १ बाट ३५ हजार ८ सय २६ र काठमाण्डौ उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् ।
म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो । आवेदन दिने म्याद हिजो सकिएको छ । दरखास्त दिने सबैलाई आज सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
पर्सि ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासन बापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।