संरक्षकबाट नै संविधान उलंघन भएको जसपा नेपालका अध्यक्ष यादवको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले संविधानको उल्लघंन गरेको आरोप लगाउनु भएको छ ।
जसपाको जिल्ला पार्टी पुर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको आरोप लगाउनु भएको हो । संविधानको संरक्षकबाट नै संविधानको उलंघन भएको भन्दै अध्यक्ष यादवले आपत्ती जनाउनुभयो ।
उहाँले दुवै सदनबाट दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदीय लोकतन्त्रमाथि प्रहार गरेको टिप्पणी गर्नुभयो । संसदले पास गर्ने राष्ट्रपतिले प्रमाणिकरण नगर्ने भएमा सरकार, राष्ट्रपति र संसदबीच द्वन्द्ध बढ्ने निश्चित रहेको उहाँको दाबी छ ।
आफ्नै देशमा नागरिकता विहिन हुनु दुखद भएको उल्लेख गर्दै अध्यक्ष यादवले राज्यले नागरिकता नदिनु अपराध हुने बताउनुभयो । जसपा पाँच दलिय गठबन्धनकै पक्षमा रहने उहाँले प्रष्ट पार्नुभयो ।