थाहा नगरमा असोज १४ देखि पहिलो पटक बिच भलिबल प्रतियोगिता हुने
थाहा कला केन्द्रको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । असोज १४ गतेदेखि १७ गतेसम्म थाहा नगरपालिका वडा नम्वर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । थाहा कला केन्द्रको आयोजना तथा थाहानगर भलिबल संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।
थाहा नगरपालिकाको पर्यटन प्रवर्धन हुने उद्देश्यले थाहा नगरमा पहिलो पटक बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागको हौँ ।’ थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले भने –‘थाहा नगरपालिका भलिबलको धरोहर भएकोले गर्दा बिच भलिबलमा करिव ५० टिमको सहभागिता रहने अपेक्षा लिएका छौँ । असोज १ गते देखि १० गतेसम्म टीम दर्ताको लागि सूचना प्रकाशन गर्ने छौँ । टीम दर्ताको लागि शुल्क १ हजार १ सय रुपैयाँ तोकेका छौँ ।’
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा अनुशासीत टीमलाई नगद ५ हजार, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र प्रदान गर्ने उनले बताए । बिच भलिबल प्रतियोगिताको लागि भौतिक रुपमा काम भइरहेको उनको भनाइ रहेको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त सिटौला, कोषाध्यक्ष शंकर कार्की, थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घलेलगायतको आतिथ्यता रहेको थियो । साभार: सत्मार्ग अनलाइन ।