राजमार्गलाई गिज्याईरहेको हेटौंडा ६ कर्रा पुलसंगैको जीर्ण सडक
धरान चतारा सडक खण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालकिा वडा नम्बर ६ कर्रा पुलसंगैको बाटो सानो झरीमा पनि आहाल बन्छ । यो सडक खण्डको खाल्टाखुल्टी नपुरिँदा सवारी आवातजावतमा मात्रै होइन पैदलयात्रीलाई समेत सास्ती खेप्नु परेको छ ।
सडकमा भएका खाल्टाखुल्टी नपुर्दा गाडी चालक र यात्रुले सास्ती बेहोर्दै आउनुपरेको हो । राष्ट्रिय राजमार्गकै दूराबस्था हुँदा समेत यसको मर्मतसम्भारमा निर्माण कम्पनिले चासो दिएको छैन । हेटौंडा उपमहानगरपालकिा वडा नम्बर ६ पुतलीबजारमा पुग्दा देखिने जीर्ण सडकले राजमार्गलाई गिज्याईरहेको छ ।
प्रतिष्ठीत निर्माण कम्पनि कालिका कन्स्ट्रक्शनले निर्माण गरिरहेको यो राजमार्गको अन्य ठाउँमा भने सडक आकर्षक देखिन्छ । तर कर्रा खोलाको पुल तर्ने बित्तीकै देखिने खाल्डाखुल्डी बनाउन भने निर्माण कम्पनिले चासो दिएको छैन । खाल्डाखुल्डी नपुर्दा ठूला सवारी साधन जसोतसो गुडेपनि साना सवारी चालकहरुलाई भने समस्या भईरहेको छ । नजिकै रहेको वडा कार्यालयले समेत सडकको खाल्डाखुल्डी नदेखे झै गरिरहेको छ ।
दैनिक हजारौँको संख्यामा सबारी साधन गुड्ने यो राजमार्गमा सडककै कारण दुर्घटनाको जोखिम बढेको छ । तरपनि यो सडकको खाल्डाखुल्डीपुर्न नत निर्माण कम्पनिले चासो दिएको छ । नत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयले नै वास्ता गरेको छ ।