हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रमः आज रक्तदान, फलफुल वितरण र स्लो बाइक प्रतियोगिता आयोजना
हेटौंडा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज रक्तदान, हेटौंडा अस्पतालमा फलफुल वितरण र स्लो बाइक प्रतियोगिता गरेको छ ।
जेसिजले आज बिहान हुप्राचौरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सन्जय न्यौपानेले जानकारी दिनुभयो । हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा जेसीज २०२२ का अध्यक्ष पवन कुमार कंसाकारको सभाध्यक्षता रहेको थियो ।
यस्तै जेसिजले आज दिउँसो हेटौंडा अस्पतालका ४० जना बिरामीलाई फलफुल तथा पौष्टिक आहार वितरण गरेको छ । हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रम संयोजक सुरज कंसाकारले जानकारी दिनुभयो ।
यसैगरी जेसिजले आजै साँझ स्लो बाइक प्रतियोगिता गरेको छ । १५ जना सहभागी प्रतियोगितामा कविदेव सुनार पहिलो, नवराज त्रीपाठी दोस्रो र प्रतिक कोईराला तेस्रो भएका छन् । आर एस लाईफ स्टाईल हेटौंडा ४ ले प्रायोजन गरेको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई हेलमेट र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण आलेले जानकारी दिनुभयो ।
शितल महल चोकमा गरिएको स्लो बाइक प्रतियोगितामा वडा प्रहरी कार्यलयका प्रमुख प्रहरी निरिक्षक केशर कुमार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा जेसीज २०२२ का अध्यक्ष पवन कुमार कंसाकारको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
जेसिजले भदौ २१ भोली जेसीज र बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम गर्ने अध्यक्ष कंसाकारले जानकारी दिनुभयो । यसैगरी २२ गते वृक्षारोपण र अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता हुनेछ भने २३ गते अम्बिका देवी स्मृती हाजिरीजवाफ प्रतियोगिता गरिनेछ।
भदौ २४ गते मधेश प्रदेश र बागमती प्रदेश छुट्याउन बारा र मकवानपुरको सिमाना चुरियामाई मन्दिर नजिक स्वागत बोर्ड राखिने तथा हेटौंडा ९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने हेटौंडा जेसिजका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन २५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको महासचिव श्रेष्ठले बताउनुभयो ।