डेंगु संक्रमण नियन्त्रण गर्न हेटौंडामा ‘लार्भा नष्ट’ अभियान तीब्र
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फैलिएको डेंगु संक्रमण नियन्त्रण गर्न ‘लार्भा नष्ट’ अभियानलाई तीब्र पारिएको छ । डेंगु संक्रमण दर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडामा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मीसहित सरोकारवालाको अगुवाइमा अभियान सुरु गरिएको थियो ।
गत आर्थिक वर्ष २०७८/७९ मा १ सय ९५ जना डेंगुको संक्रमणमा रहे पनि चालु आर्थिक वर्षको एक महिनाको अवधिमा ५ सय ५८ जना संक्रमित देखिनुले अवस्था डरलाग्दो भएको मेयर लामाको भनाइ छ । चालु आवको संक्रमण दर अनुसार हेटौंडा–४ मा २ सय ७६ र हेटौंडा–५ मा ७६ जनामा डेंगु संक्रमण भएका छन् । हेटौंडा उपमहानगर बाहिर हालसम्म न्यून दरमा डेंगु संक्रमित भेटिएका छन् ।
विशेष गरी हेटौंडा–४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । डेंगुको कारण हालसम्म मकवानपुरमा कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेकोले उपचारमा समस्या हुँदै गएको उनले जानकारी दिए । साभारः हेडम्बा न्युज ।