माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङसहित २० जना पदाधिकारीहरुको नाम प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरुङ सहित पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २० जना पदाधिकारीको नाम प्रस्ताव गर्नुभएको हो । २१ सदस्यीय हुने पदाधिकारीमा अध्यक्षमा यस अघि नै प्रचण्ड चयन भइसक्नुभएको छ ।
अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गर्नुभएको छ । त्यस्तै, उपमहासचिवमा गिरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव भएको छ ।
सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहनुभएको छ भने कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको नाम स्थायी कमिटी बैठकले पारित गरेपछि केन्द्रीय कमिटीमा जान्छ र केन्द्रीय कमिटीले पारित गरेपछि पदाधिकारी चयन हुनेछन् । साभारः उज्यालो अनलाइन ।