समाजवादीको जिल्ला कमिटी बैठक, पालिकास्तरीय गतिविधि अघि बढ्ने

छहारी संवाददाता
साउन १३, २०७९

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण शुक्रबार हेटौँडामा भएको छ ।

पार्टीका उपाध्यक्ष एबम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले साउन र भदौ महिनाभर संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको छ । कार्य योजना अन्तर्गत हरेक पालिका तहको बैठक, भातृ संगठनहरुको बैठक, वडा तहको संगठन निर्माण र पुनगठन एबम् प्रशिक्षण लगायतका कार्यक्रमहरु रहेको पार्टी अध्यक्ष सूर्यचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश स्तरीय कमिटीहरुको पूर्णता र पार्टी सदस्यता बितरणलाई समेत प्रमुख प्राथमिकतामा राखी पार्टीले राजनीतिक गतिविधिहरुलाई तीब्रता दिन लागिएको उहाँले बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष एबम् बागमती प्रदेश इन्चार्ज न्यौपानेले अहिले पनि राष्ट्रियतामाथि भयंकर खतरा रहेको राष्ट्रिय परिवेशबारे चर्चा गर्नु भएको थियो । उहाँले एससिसि र एसपिपी सम्झौताले देशमा चाइनाबिरुद्ध अमेरिकी हस्तक्षेप बढिरहेको र त्यसले नेपाललाई भविष्यमा युक्रेनीकरण गर्ने अबस्था आउन सक्ने बताउनुभयो ।

‘यो जटिल परिस्थितिको सामना हामीले गर्नुपर्नेछ’, उहाँको भनाई थियो–‘यस्तो अबस्थामा देशप्रति जिम्मेवार पार्टीको रुपमा नेकपा एकीकृत समाजवादीलाई बलियो रुपमा उभ्याउनु आजको आवश्यकता बनिसकेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एबम् बागमती प्रदेश अध्यक्ष साबित्रा भुषालले पार्टी संगठनको बिस्तार, विकास, मूल्यांकन तथा अनुशासनका बिषयमा कार्यकर्ताहरु सचेत भएर लाग्नुपर्ने सुनाउनुभयो । त्यसैगरी अर्का स्थायी कमिटी सदस्य एबम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले केपी ओली नसुध्रिएसम्म बाम एकता वा तालमेलमा एमाले नसमेटिने बताउनुभयो ।

अर्का स्थायी कमिटी सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज ललितकुमार बस्नेतले पार्टी संगठनको काम स्थानीय तहको निर्वाचनपछि सुस्त भएको प्रसंग कोट्याउँदै अहिले नै थकित हुन नहुने बताउनुभयो । कार्यक्रममा जिल्ला सचिवालय कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको छ । कार्ययोजना अन्तर्गत सबै पालिकामा अब राजनीतिक गतिविधिहरु हुने पार्टीका सचिव बिष्णुप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*