हेटौंडा उपमहानगरले मासिक दशहजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने
हेटौंडा उपमहानगरपालिकाले मासिक दशहजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ ।
सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । गठबन्धनबाट निर्वाचित भएको तीन महिनामै विहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले आफ्नो चुनावी घोषणा पत्र अनुसार गरिएको प्रतिबद्धा पूरा गरेका हुन् ।
मेयर, उपमेयर र १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको वैठकले खानेपानी निस्शुल्क उपलब्ध गराउने निर्णय गरेको हो । वैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको दशहजार लिटरसम्म खानेपानी निस्शुलक उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए ।
यस निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत् जडान भएको धाराहरुमा मात्र लागू हुनेछ । मेयर लामाका अनुसार यस निर्णय अनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दावी गरिएको छ । निस्शुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउनेछ । ‘उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिएको हकमा हामी विशेष निर्णयपछि गर्नेछौं ।’, मेयर लामाले भनिन् ।
मेयर लामाले पदास्थापनाको समयमा उपमहानगरभित्र रहेका १५ सय ११ अतिविपन्न परिवारलाई निस्शुल्क खानेपानी, विद्युत र स्वास्थ्य वीमा गर्ने निर्णय गरेकी थिइन् । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा यस विषय समेटिएको थियो । साभारः हेडम्बा न्युज ।