६० लाखको लगानीमा हेटौंडामा डाइनामो फिटनेस सेन्टर संचालन

ओम प्रसाद फुयाल (अनिश आयु बाबा)
असार ३०, २०७९

पछिल्लो समय मानिसमा शारिरीक र मानसिक तन्दुरुस्ती अत्यावस्यक कुरा हो भन्ने ज्ञान बढेसंगै गाउँ तथा शहरमा व्यायामका लागि विभिन्न सेन्टरहरु खुल्ने क्रम बढेको छ । यसैक्रममा हेटौंडामा बिहिबारबाट अर्को एक व्यायाम सेन्टर ‘डाइनामो फिटनेस सेन्टर’ संचालनमा आएको छ ।

हेटौंडा ४ हुप्राचौर नजिकै संचालनमा आएको ‘डाइनामो फिटनेस सेन्टर’को हेटौंडाका उपमेयर राजेश बानियाँले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा उपमेयर बानियाँले मानिसको जीवनमा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा भएकोले आफ्नो शारिरीक तन्दुरुस्तीलाई ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले मानिस स्वस्थ रहेमात्र हरेक क्षेत्रमा आफ्नो योगदान दिन सक्षम हुने भन्दै व्यायामलाई आफ्नो दैनिकी बनाउन आग्रह गर्नुभयो । साथै उहाँले खेल क्षेत्रलाई साथ र सहयोग रहे जस्तै फिटनेसका क्षेत्रमा पनि उपमहानगरले साथ सहयोग गर्ने बचन दिनुभयो । उपमेयर बानियाँले ‘डाइनामो फिटनेस सेन्टर’ले मानिसलाई स्वस्थ रहन अत्यावस्यक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, फिटनेस खेलाडी सुजन श्रेष्ठ, समाजसेवी दीपेन्द्रचन्द्र ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

विवेक गाउँले दाहाल र दिपक लामाको करीब ६० लाखको संयुक्त लगानीमा ‘डाइनामो फिटनेस सेन्टर’ संचालनमा आएको हो । युवाहरुलाई लक्षित गर्दै सुरु गरिएको सेन्टरमा शारिरीक व्यायामका साथै डान्स कक्षा संचालन हुने संचालक विवेक गाउँले दाहालले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*