जनवादी गायक जीवन शर्माको एकल साँझमा मुख्यमन्त्री देखि हेटौंडेलीसम्म नाचे
जनवादी गायक जीवन शर्माको एकल साँझ कार्यक्रममा हेटौंडेलीहरु छमछमी नाचेका छन् ।
प्रगतिशील लेखक संघ मकवानपुरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमेत नाच्नुभयो । शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको‘ गीत गाउँदै मुख्यमन्त्री पाण्डे सहित कार्यक्रममा सहभागी सांसद, जनप्रतिनिधि र साहित्यकारहरु सबैलाई नचाउनु भएको हो ।
कार्यक्रममा गायक शर्माले ‘झरनाको चिसो पानी, चाहिँदैन मलाई सिसाको महल लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति भएको हो ।
२०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतहरूमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन अनवरत रुपमा लागि रहेका शर्माका हालसम्म दुई हजारभन्दा बढी गीत रेकर्ड रहेका छन् । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।