असार ३२ गते शनिबार धार्मिक साइकलयात्रा आयोजना हुने
यही असार ३२ गते शनिबार धार्मिक साइकलयात्रा आयोजना हुने भएको छ ।
हिमालयन राईडर्स सोसाईटी हेटौंडाले धार्मिक साइकलयात्रा आयोजना गर्न लागेको हो । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर बनाउने लक्षका साथ कोरा राइड अर्थात धार्मिक साइकलयात्रा गर्न लागिएको सोसाइटीका सचिव राजु थापा सारु मगरले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सफल पार्न कोरा रुट भित्र पर्ने हेटौंडा उपमाहानगरपालिका र वडा कार्यालयहरुले सहकार्य गर्ने छन् । हेटौंडा–४ को पशुपतिनाथ मन्दिरमा बिहान ६ बजे जम्मा भएर सुरु गरिने कोरा राइड कुष्माण्ड सरोबर, त्रिबेणीधाम, चौकीटोल, बनस्खण्डी, मुक्तिनाथ, दक्षिणकाली हुँदै भुटनदेबी मन्दिरमा पुगेर समापन गरिनेछ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना लामा, उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्षहरु, मउवासंघका प्रतिनिधिहरुले साइकलयात्रीलाई शुभकामना दिने कार्यक्रम तय भएको छ । कोरा राईडमा सहभागी हुनका लागि साइकलयात्रीले २०० रुपैया दर्ता शुल्क तिर्नुपर्ने हिमालयन राइडर्स सोसाइटीले जनाएको छ ।