आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डाैकाे रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा भावानुवादसहितको ‘रामायण’ लेख्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि घरघरमा पाठ गरिन्छ ।
१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएपछि उहाँले रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको बताइन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो । साभारः उज्यालो अनलाइन ।