तोकिएको समय अगावै हेटौंडा ११ र १२ जोड्ने राप्ती खोलामा पुल निर्माण
तोकिएको समय अगावै हेटौंडा ११ र १२ जोड्ने राप्ती खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । तोकिएको समय भन्दा तीन महिना अघि नै पुल निर्माण सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् ।
बागमती प्रदेशको यातायात पूर्वधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनी मार्फत पुल निर्माण गरेको निर्देशनालयका प्रवक्ता इन्जिनियर हरि प्रसाद ओझाले जानकारी दिनुभयो । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले २ सय १५ मिटरको पक्की पुल २०७६ असोज २७ गते निर्माण सम्झौता गरेको ओझाले बताउनुभयो ।
निर्माण कम्पनी एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिले २०७९ असार २४ गते पुल र ७ सय मिटरको एप्रोच सडक मन्त्रालयलाई हस्तान्तरण गरेको हो । कम्पनीले कुल ३२ करोड ८८ लाख २९ हजारमा निर्माण सम्पन्न हुने अनुमान गरिएको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको जानकारी दिनुभयो । जसमध्ये दुईवटा पुल तोकिएको समय भन्दा अगाडि सम्पन्न भएको छ । हामी निर्माण कम्पनीलाई दैनिक सुन्य दशमलब ५ प्रशितका दरले बाँकी समयको रकम पुरस्कार स्वरुप उपलब्ध गराउने छौं,’ निर्देशक भण्डारीले भन्नुभयो ।
यसअघि प्रदेशले निर्माण गरेको नुवाकोटको तादी खोलाको ६५ मिटरको पक्की पुल पनि तोकिएको समय अघिनै निर्माण सम्पन्न भएको थियो । प्रदेशले ठेक्का आह्वान गरेकोमध्ये हाल ३० वटा पुल निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब २ सय वटा पुलको ठेक्का आह्वान गर्ने तयारीमा निर्देशनालय रहेको छ ।