राक्सिराङ ८ का किसानलाई ६ सय बोट एभोकाडोका बिरुवा वितरण
राक्सिराङ गाउँपालिकाका किसानलाई सोमबार घ्यु फल (एभोकाडो)का बिरुवा वितरण गरिएको छ ।
महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपाल मकवानपुरको आयोजनामा राक्सिराङ वडा नम्बर ८ का २० जना किसानलाई ६ सय बोट एभोकाडोका बिरुवा वितरण गरिएको हो । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपी र राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा किसानहरुलाई बिरुवा वितरण गरिएको हो ।
महिला सशक्तीकरण तथा गरीबी निवारण समूहकी अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष युसाई प्रजाको प्रमुख आतिथ्यता रहेको थियो ।
वडाका अति विपन्न चेपाङ तथा तामाङ समुदायलाई लक्षित गरी दिगो कृषि विकासलाई टेवा पुर्याउँदै आय आर्जन बढाउने उदेश्यले कार्यक्रम संचालन गरिएको समूहकी अध्यक्ष न्यौपानले बताउनुभयो ।
कार्यक्रममा बोल्दै किसानहरुले यस्ता योजनाहरुले बढ्दो बेरोजगारी तथा विदेश पलायन हुन बाध्य देशका होनहार युवाशक्तिलाई स्वदेशमै रहि स्वरोजगार बन्न प्रेरणा मिल्ने बिस्वास व्यक्त गरेका छन् ।