हेटौंडामा खेलकुदको विकासका लागि उपमहानगरले विषेश चासो दिनेछः उपमेयर बानियाँ
हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले खेल क्षेत्रलाई उपमहानगरलाई उच्च चासोमा राखेको बताएका छन् । शनिबार नागस्वती भेट्रान्सको पहिलो साधारण सभालाई सम्बोधन गर्दै मकवानपुरमा फुटबल खेलाडी उत्पादनमा जोड दिन भेट्रान्स खेलाडीहरुलाई आग्रह समेत गरेका थिए ।
जिल्लामा हुने प्रतियोगितामा बाहिरबाट खेलाडी किन्नुपर्ने बाध्यतालाई अब बन्द गराउन जिल्लामै खेलाडी उत्पादनमा लाग्न आग्रह गरेका छन् । उपमहानगरले यस पटकको बजेटमा खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउदै नागस्वती भेट्रान्सलाई पनि समेटेर अगाडी बढ्ने बताए ।
४० वर्ष माथिका पुर्ब राष्टिय खेलाडीहरुले पछिल्लो समय मकवानपुरमा फुटबलखेललाई चलायमान गराउन खेलेको प्रशंसा गर्दै बानियाँले अझ सक्रिय भएर भेट्रान्स खेलाडीहरु लाग्नुपर्नेमा जोड दिए । नागस्वती भेट्रान्स जिल्लामा खेलाडी उत्पादन गर्ने मुहान भएको भन्दै क्लबलाई सक्रिय रहेर खेलका गतिविधि बढाउन आग्रह गरे । क्लबका अध्यक्ष सोमबहादुर तितुङको अध्यक्षतामा भएको साधारण सभामा क्लबका द्धितीय उपाध्यक्ष गोकुलनाथ पौडेलले स्वागत भनाइ राखेका थिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य तथा फुटबल संघका अध्यक्ष टिका लामा, हेटौडा ७ का वडा अध्यक्ष दामोदर गौतम, वडा न ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर ८ का अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, हेटौडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्य, हेटौडा ७ का पुर्व वडा अध्यक्ष राजन थापा लगाएतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा जिल्लाका पूर्व खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।