बानियाँलाई मुख्यमन्त्री बनाउन पाण्डे सकारात्मक, औपचारिक निर्णय हुँदै

छहारी संवाददाता
असार १८, २०७९

बागमती प्रदेशमा सत्तारुढ दलहरुबीच सरकार परिवर्तनको कसरत भइरहेको बेला नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक आज काठमाडौँमा बस्दैछ । पार्टी अध्यक्ष माधव नेपालको उपस्थितिमा बस्ने बैठकले प्रदेश सरकार परिवर्तनको विषयमा निचोड निकाल्ने जनाइएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि नेकपा एकीकृत समाजवादीले शनिवार संसदीय दलको बैठक आह्वान गरेको हो । शुक्रबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा पार्टी नेतृत्वसँग छलफल गरेका थिए । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतले बताएको तुखबरले लेखेको छ ।

सरकारको नेतृत्व गर्नुअघि नै बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो एकीकृत समाजवादीको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे र नेपाली कांग्रेसको तर्फबाट इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो ।

सोही सहमति अनुसार सुरुमा पाण्डेले सरकारको नेतृत्व गरे भने अहिले कांग्रेसले नेतृत्वको दाबी गरेको हो । मुख्यमन्त्री पाण्डे कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भएको बताइएको छ । आजको बैठकले यसबारे औपचारिक निर्णय गर्ने स्रोत बताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*