नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशद्वारा मुख्यमन्त्री पाण्डे समक्ष ज्ञापनपत्र पेश

छहारी संवाददाता
असार १६, २०७९

 

नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका पदाधीकारी र बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे बिच भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल ईन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश समितिका सभापति ई. रोहिणी पौडेलले समग्र इन्जिनियर समुदायको तर्फबाट बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे समक्ष आठ बुँदे ज्ञापनपत्र पेश गर्नुभयो । ज्ञापनपत्र पेश गर्दै उहाँले इन्जिनियर समुदाय र देशको उन्नतिको लागि सहायक बन्न इच्छुक र अग्रसर रहेकोले राज्यले सम्मानजनक सहभागिता तथा उत्प्रेरणा प्रदान गर्नुपर्ने बताउनु भयो।

ज्ञापन पत्रमा प्रदेश सभामा पेश हुँदै गरेको स्थानीय सेवा अध्यादेश २०७८ मा हालसम्म समेटिएका विषय प्रति कृतज्ञता प्रकट गर्दै उक्त अध्यादेशमा केहि थप प्रावधान सहित अविलम्ब पास गर्न माग गरिएको छ। साथै विभिन्न इन्जिनियरिङ्ग विधाहरुका दक्ष जनशक्तिलाई समेत राज्यका निकायहरुमा समावेश गरेर लैजान विधा थप गरि पदपुर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ।

सुचना प्रविधि, सुरक्षा लगायतका विषयमा दक्षता प्राप्त गरेका इन्जिनियरहरुको उचित सदुपयोग गर्न राज्यले ध्यान दिनुपर्ने, कार्यस्थलमा इन्जिनियरको सुरक्षालाई कडाइका साथ राज्यले दायित्व लिनुपर्ने लगायतका विषय ज्ञापनपत्रमा समेटिएको छ ।

यस्तै नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिको लागि आवश्यक कार्यालय तथा सम्पर्क कार्यालयहरुको लागि जग्गा तथा पुर्वाधारको स्रोत व्यवस्थापनको माग गर्दै प्रदेश तथा स्थानीय तहका पुर्वाधार सम्बद्द समिति तथा विविध निकायहरुमा ईन्जिनियर्स एसोसिएसनको सँस्थागत प्रतिनिधित्व सुनिश्चित गरि पुर्वाधार विकासमा यस्ता सँस्थाहरुको योग्यतालाई लाभको रुपमा सदुपयोग गर्न नितिगत व्यवस्था गर्न माग गरिएको छ।

साथै विकास र पुर्वाधारहरुका अभ्यास तथा नविनतम् प्रविधिहरुको बारे नियमित अध्ययन, अनुसन्धान र वहसपैरवीको कार्यमा इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश समिति अग्रसर भएर लागेकोले बताउँदै सोको लागि आवश्यक बजेटको समेत माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेश कार्यकारिणी समितिको पेशागत हित प्रतिको सोचबाट आफु उत्साहित भएको बताउनुभयो । उहाँले समितीले राखेको मागहरुको समयोचित सम्बोधनको लागि आफु सकारात्मक रहेको बताउनुभयो।

साथै प्रदेश सरकार तथा एसोसिएसनको प्रदेश समितिबिच भविष्यमा पनि निरन्तर छलफल तथा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश समिति, प्रबुध्द इन्जिनियरहरु साथै मुख्यमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरुको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*