मकवानपुरको पालुङ बितरण केन्द्रमा सबैभन्दा बढी २७ प्रतिशत बिद्युत चुहावट
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरणमा बिद्युत चुहावट भएको छ । यस क्षेत्रमा बिद्युत चारेर बाल्नेहरु पनि धेरै छन् । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावटबाट पालुङमा २७ दशमलब २९ प्रतिशत बिद्युत चुहावट गरिएको छ ।
बितेको आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा विद्युत चुहावट कम हो तरपनि चुहावट नियन्त्रणनै नभएको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १ दशमलब ९ प्रतिशत विन्दुले घटाएको छ । गतवर्ष त्यस केन्द्रको २८ दशमलब ३१ प्रतिशत चुहावट थियो ।
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २५ दशमलब ५६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २६ दशमलब २७ प्रतिशत चुहावट थियो । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सर्फमर फेर्नेलगायतका काम गरिरहेको छ । सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सर्फमर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।
प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको स्टक युनिट ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।