सहकारी लेखा व्यवस्थापन तालिम सुरु
राज कुमार के.सी. / मकवानपुर जिल्ला सहकारी संघ लि. को आयोजना बागमति प्रदेश सहकारी बोर्ड को सहयोगमा सहकारी लेखा ब्यवस्थापन तालिम सुरु भएको छ ।
चार दिनसम्म संचालन हुने तालिमको बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रशिक्षकलाई तालिम सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नुभयो । उद्घाटनकै क्रममा उपाध्यक्ष खत्रीले सहकारीमा आवद्ध भएपछि सहकारीको मर्म अनुसार उद्दमशिल कार्यमा लाग्न तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले उद्दमशिलताको बिकास गरि समतामुलक समाज निर्माणका लागि सहकारी अपरिहार्य भएको बताउनुभयो । तालिम उद्घाटनकै क्रममा उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथि मकवानपुर जिल्ला सहकारी संघका सचिब दिनेश उपाध्यायले सहकारीको अर्थ सहकार्य भएको र सहकारीले सामाजिक जीवनस्तर उकास्न मद्दत गर्ने बताउनुभयो ।
उहाँले सहकारीका संचालक र कर्मचारीको क्षमता बिकासको लागि तालिम आयोजना गरेको बताउनुभयो । उपाध्यायले सहकारी अभियानलाई सार्थक बनाउन स्थानीय तहले सहयोग गर्न समेत अनुरोध गर्नुभयो। तालिम उद्घाटनका क्रममा बकैया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भुमल सिं घलान, ५ का अध्यक्ष लक्ष्मी जिम्बाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।
सहकारी संजाल बकैयाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा एवम् मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका कर्मचारी राज कुमार के.सी.ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । तालिममा बकैया, बागमती र मकवानपुर गढि गाउँपालिकामा भएका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।