आन्दोलनरत संयुक्त संघर्ष समिति र हेटौंडा अस्पताल प्रशासनबीच १५ बुँदे सहमति

छहारी संवाददाता
असार ११, २०७९

हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति र अस्पताल प्रशासनबीच १५ बुँदे सहमति भएको छ ।

अस्पताल सुधार मागको ७ औँ दिन प्रशासन र आन्दोलनरत संघर्ष समितिबीच सहमति भएको हो । अस्पताल परिसरमा सहायता तथा गुनासो केन्द्र स्थापना गर्ने संघर्ष समितिले जनाएको छ ।

सहमतिअनुसार बिरामीको चापलाई ध्यानमा राखेर टिकट काउन्टर र जनशक्ति थप गरिने, बीमा मार्फत हुने जाँच तथा औषधि अस्पतालकै फार्मेसीमा उपलब्ध गराउने, डुयूटी आवरमा डाक्टर अस्पतालमै रहने, तोकिएको समयमा अन्य क्लिनिकमा चिकित्सक गएको पाइएका तत्काल कार्वाही गरिने भएको छ ।

त्यस्तै एक्सरे, भिडियो एक्सरे, ल्याब मेसिन सलामत हुनुपर्ने, रिपोर्ट यथासिघ्र उपलब्ध गराउनु पर्ने, सम्पूर्ण कर्मचारीले डिजिटल हाजिर गर्नुपर्ने, अस्पतालका कर्मचारीलाई कार्यालय समयमा मोवाइल प्रयोगमा रोक लगाइने सहमति भएको छ ।

सहमती पत्रमा अस्पतालको तर्फबाट अध्यक्ष राजेश प्रसाईँ र मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटा, व्यवस्थापन समिति सदस्य उत्सव चौंलागाई र हिरा लामाले हस्ताक्षर गरेका छन् भने संघर्ष समितिको तर्फबाट ९ जनाले हस्ताक्षर गरेको संघर्ष समितिका सदस्य दिपेन्द्र चन्द ठकुरीले बताउनुभयो ।

यसैबीच, अस्पताल सुधारको माग गर्दै आएको संघर्ष समितिले सार्वजनिक सेवा सुधार संघर्ष समिति(पाँचएस)को नामबाट हरेक सार्वजनिक निकायलाई खबरदारी गर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*