मकवानपुरमा बालबालिकालाई कोरोना बिरुद्धको ‘फाइजर बायोएनटेक’ खोप दिइने
मकवानपुरमा बालबालिकालाई कोरोना बिरुद्धको फाइजर बायोएनटेक खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै ५ वर्ष उमेर पुगेका र १२ वर्ष ननाघेका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन लागिएको जानकारी दिएको हो ।
मकवानपुरका दश ओटै स्थानीय तहका विद्यालयमा यहि असार ९ गतेदेखि १५ गतेसम्म अभियान संचालन गरी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
यसकालागि ३९० जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । फाइजर खोपको दोस्रो मात्रा २१ दिनपछि दिइनेछ । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले ६१ हजार ७५ बालबालिकालाई फाइजर खोपदिने लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले लक्षित उमेर समुहका बालबालिका नछुटुन भन्ने उदेश्यले विद्यालयमा अभियान संचालन गर्न लागिएको बताउनुभयो । उहाँले फाइजर खोप सुरक्षित रहेकोले ढुक्क भएर बालबालिकालाई लगाउन आग्रह समेत गर्नुभएको छ ।